काठमाडौं, ९ माघ ।
प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ।संसद विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिएको प्रचण्ड–माधव समूहले आज राजधानीमा एकीकृत प्रदर्शन गर्ने तयारी गरेको हो । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराई यो जनप्रदर्शनले संविधान जोगाउने र संसद् पुनस्र्थापनाको आधार खडा गर्ने दाबी गर्नुभएको छ ।
दोस्रो चरणको संघर्षको कार्यक्रमलाई संशोधन गर्दै माघ ३ को स्थायी कमिटी बैठकले माघ ९ गते सशक्त र एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको थियो । यो समूहका नेताहरुले आजकोे जनप्रदर्शनमा राजधानी भरिभराऊ हुने बताउँदै आएका छन् । जनताका प्रतिनिधिले बनाएको संविधान र जनप्रतिनिधिहरुको संस्था संसद् जोगाउन भोलि जनता स्वयं सडकमा उत्रने भट्टराईले बताउनुभयो । आजको आमसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने भट्टराईको भनाई छ। यसअघि पुस १४ मा उपत्यकाका जनशक्ति सडकमा उतारेको प्रचण्ड–माधव समूहले आज भने बागमती, गण्डकी र प्रदेश–२ का केही जिल्लाहरुबाट समेत कार्यकर्ता राजधानी ल्याउने बताइएको छ । प्रदर्शनमा सहभागी हुन धेरैजसो जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं आइसकेको भट्टराईले बताउनुभयो ।