भक्तपुर, ४ माघ ।
चाँगुनारायण न.पा–७ खरिपाटीस्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले सहकारीहरु नाफामुलक भन्दा पनि आयमुलक हुनपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुले निम्न आय भएकाहरुलाई ध्यान राखि सस्तो र सुलभ ब्याजदरमा ऋण लागनी गरी उनीहरुको आयस्तर मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्ना नगरभित्र बसोबास गर्ने नगरबासीहरुलाई लक्षित गर्दै नगरपालिकाले सहकारीहरुसँग सहकार्य गरी आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष मनोज गिरीले सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा सहकारी र चाँगुनारायण नगरपालिकाको समन्वयमा बिभिन्न आयमुलक कार्यक्रम तथा तालिमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सन्तबहादुर वाइबा, नगरपालिकाको सहकारी शाखा प्रमुख बिजय कुमार शर्मा र बिभिन्न स्थानीय सहकारीका अध्यक्षलगायतले शुभकामना मन्तव्यसहित सहकारीको मूल्य, मान्यता र सिद्धान्तका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा साकोसका सचिब सुरज बास्तोलाले बार्षिक प्रतिबेदन पेश गर्नुभयो । पाँच दिनसम्म सञ्चालन भएको सभामा १६७६ शेयर सदस्यहरुको सहभागिता रहेको व्यवस्थापक अर्जुन बास्तोलाले जानकारी दिनुभयो ।