अमृता अर्याल
भक्तपुर, १४ मंसिर ।
यशश्वी युवा समाजको आयोजनामा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हिजो आयोजना गरिएको उक्त कार्यक्रममा HERD Nepal का भक्तपुर जिल्ला संयोजक विष्णु भट्ट र काभ्रे जिल्ला संयोजक तेज नारायण शाहले सहभागीहरुलाई क्षयरोगबारे जानकारी दिनुभएको थियो । क्षयरोगको सामान्य जानकारी सँगसंगै प्रशिक्षकहरुले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरस भन्दा क्षयरोगबाट बढि मानिसको मृत्यु भइरहेको बताउनु भएको थियो ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या १५ लाखको हाराहारीमा रहेको छ भने क्षयरोगबाट मृत्यु हुनेको संख्या त्यो भन्दा बढि रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै क्षयरोग विश्वका मृत्यु कारक रोगहरुमा ७ औं रोग भएको पनि बताइएको छ। सामाजिक सोचाइ र गलत बुझाइले गर्दा रोग पहिचान हुन नसकेको प्रशिक्षकहरुको भनाई रहेको छ ।साथै धेरै भिडभाड र चिसो ठाउँमा यो रोग सर्ने प्रवलता उच्च रहेको पनि बताइएको छ ।नेपालमा निस्शुल्क परिक्षण र उपचार हुने भएकाले रोगसँग नडराइ उपचार गर्नका लागि मानिसहरुलाई प्रेरित गर्न युवाहरुले भुमिका निर्वाह गर्नुपर्ने भनाई प्रशिक्षकहरुले राख्नु भएको थियो ।
वर्तमान कोभिड महामारीको स्थितिलाई मध्यनजर गदैं २० जनाको उपस्थितीमा सञ्चालित कार्यक्रममा सभापतिको भूमिका राजु सुवाल र उद्घोषण किरण गोसाईले गर्नु भएको थियो ।